नगर प्रमुख, मोहन बस्नेत
शिक्षाः
दक्षिणकाली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षा र भौतिक संरचनाहरुलाई व्यवस्थापन गरी त्यहाँ पठनपाठन गर्ने विद्यार्थीहरुलाई राम्रो विद्यालयमा पढिरहेका छन् भन्ने अनुभूति दिलाउनका लागि पठन पाठनदेखि भौतिक संरचना र स्थानीय पाठ्यपुस्तक तयार गरी अगाडि बढेका छौं ।
शिक्षासम्बन्धी नीतिः
शैक्षिक सुधारको लागि नगर र विद्यालय स्तरीय दीर्घकालिन ५ वर्षे शैक्षिक योजना निर्माण गरी लागु गरिनेछ, शिक्षकको क्षमता विकासको लागि तालिम गोष्ठी तथा सेमिनार जस्ता कार्यक्रमहरु सञ्चालन गरिनेछ ।ंंंंंंंंंंं जेहेनदार गरिब तथा विपन्न वर्गका बालबालिकाहरुलाई आवश्यकता अनुसार पाठ्यसामाग्री र पोसाक लगायतका सामाग्रीहरु निशुल्क उपलब्ध गराईने शैक्षिक सुधारका लागि निरीक्षण, अनुगमन तथा सुपरीवेक्षण मुल्याङ्कनलाई वस्तुनिष्ठ तथा परिणाममुखी बनाइनेछ । शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन कक्षा कोठामा डिजिटल प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने ।
स्वास्थ्यसेवा सम्बन्धी नीति
आधारभुत स्वास्थ्य सेवालाई निःशुल्क र आकस्मिक स्वास्थ्य सेवालाई सुनिश्चित गर्दै नागरीकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा स्थापित गर्न स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ । स्वास्थ्य संस्थाको सवलीकरणका लागि आवश्यक स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि भौतिक पूर्वधार, स्वास्थ्य उपकरण औषधिको व्यवस्था गरिनेछ । विभिन्न सरकारी तथा निजी अस्पतालको सहकार्यमा प्राथमिक स्वास्थ्य केन्द्र चालनाखेलमा विशेष स्वास्थ्य सेवा सुचारु गरिनेछ । साथै नगरका विभिन्न स्थानहरुमा विशेषयज्ञ स्वास्थ्य सेवा सहितको स्वास्थ्य शिविरहरु सञ्चालन गरिनेछ ।
सडक यातायात तथा अन्य पूर्वाधार व्यवस्थापन सम्बन्धी नीतिः
सडक तथा यातायात क्षेत्रको विकासका लागि वडा कार्यालयहरुबाट राजमार्ग जोडिएका सडकहरु वडा कार्यालयबाट नगरपालिका जोडिने सडकहरु प्रस्तावित चक्रपथ, धार्मिक तथा पर्यटकीय क्षेत्रका सडक तथा पुल निर्माणलाई पूर्णता दिने पहल गरिनेछ । पूर्वाधार विकासको मेरुदण्डको रुपमा रहेका प्राविधिक शाखाका कर्मचारीहरुका लागि क्षमता विकासका तालिमहरु सञ्चालन गर्ने र फिल्डमा खटिने प्राविधिक कर्मचारीहरुलाई थप प्रोत्साहनको व्यवस्था मिलाइने पूर्वाधार विकास कार्य योजना बार्षिक खरिद कार्य योजना तथा बार्षिक मर्मत सम्भार योजना तयार गरी लागु गरिनेछ । मर्मत संभार कार्यको लागि मर्मत सम्भार कोषको व्यवस्था गरिनेछ । पूर्वाधार निर्माणमा सार्वजनिक निजी साझेदारी गरी सार्वजनिक पूर्वाधार निर्माण गर्ने नीतिलाई कार्यान्वयन गरिनेछ ।
आर्थिक विकासतर्फ
कृषि तथा पशुपंक्षी विकास सम्बन्धी
स्थानीय रोजगारीको अवस्थाको सुनिश्चितता प्रदान गर्दै कृषकहरुको उत्पादनलाई आम उपभोक्तासम्म सहज पहुँच स्थापित गर्ने र कृषकहरुलाई फलफुल उत्पादनमा प्रोत्साहन गर्न र रोजगारीको सिर्जना गर्नका लागि फलफुल प्रशोधनको लागि घरेलु उद्योग स्थापना गर्ने वास्तविक कृषकहरुको पहिचान गरी कृषकहरुलाई परिचय पत्र वितरण गर्ने व्यवस्था मिलाइनेछ । विदेशबाट ज्ञान, सिपसहित स्वदेश फर्किएका युवाहरुलाई लक्षित गरी स्थानीय कृषि प्रणालीलाई अझ बढी यान्त्रीकरण गरिनेछ । आधुनिक पशु वधशाखा तथा पशु स्वास्थ्य सम्बन्धी पूर्वाधारहरु निर्माणमा जोड दिइनेछ । बजारका उच्च माग भएका र तत्काल बिक्री वितरण गरी आय आर्जन गर्न सकिने नगदेवालीमा कृषकको प्राथमिकता र आकर्षण बृद्धि गर्न तालिम समूह खेती अध्ययन अवलोकन भ्रमण र अनुसन्धान गर्न थप लगानी गरिने ।
