धनबहादुर कायत, का.वा.नगर प्रमुख
शिक्षाः
शिक्षा नै विकासको एउटा मूल आधार हो गरिबी तथा विपन्न वर्गका छोराछोरीहरु शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यकासाथ नगरपालिकाले बजेटको व्यवस्थापन गरेको छ । अहिले सामुदायिक विद्यालय धेरै मिहेनत गरेर अध्ययन अध्यापन भईरहेको छ । विगतका दिनमा आफ्नो छोराछोरीको शिक्षा कै लागि ठूलो खर्चमा पोखरा, बुटवल, काठमाडौं बसाई सरेको अवस्था थियो तर अहिले सामुदायिक विद्यालयहरुले पनि प्रशस्त मात्रामा आफ्नो भर्ना दरहरु बढाएको छ । भोलिका दिनमा अझ बढी व्यवस्थित गर्न त्यहाँका भौतिक पूर्वाधारहरु विद्यालय परिषद् र शैक्षिक वातावरण निर्माण गर्न यस ढोरपाटन नगरपालिका पूर्ण रुप्मा लागि परेको छ ।
स्वास्थ्य
स्वास्थ्यको क्षेत्रमा ढोरपाटन नगरपालिकाभित्र एउटा बुद्धिमान प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ । साथै विकट वडाहरुमा स्वास्थ्य इकाई स्वास्थ्य केन्द्रको स्थापना गरी सेवा प्रवाह गरिरहेका छौं । जुन बृद्धिमान प्राथमिक स्वास्थ्य केन्द्रमा ढोरपाटन नगरपालिकाका मात्र नभएर अन्य पालिकाहरुबाट पनि बिरामीहरु आउने भएकाले हामीले दक्ष जनशक्तिहरुलाई करारमा भए पनि व्यवस्था गरेका छौं । औषधीहरु पनि नगरपालिकाले नै खरिद गरी बिरामीहरु फर्केर जान नपरोस् र यहाँ हुने उपचार यहीबाट होस् भनेर त्यो खालको वातावरण चाहिँ सिर्जना गरेका छौं र जटिल ठूला रोगहरुका लागि पोखरा काठमाडौं रिफर गर्ने गरेका छौं ।
गरिब, दुःखी र सुकुम्बासी
गरिब दुखीको हकमा हामीले कोही पनि गरिबहरु खरको छानामुनि नबसुन् भनेर यस ढोरपाटन नगरपालिका र प्रदेश सरकारबाट जस्तापाता उपलब्ध गराएका छौं र कोही पनि विपन्न परिवार विचलित नहुन्, भोकै बस्न नपरोस् भनेर आर्थिक सहयोग जस्तापाताहरु दिलाएका छौं र आगामी दिनमा पनि त्यस्ता खालका व्यक्तिहरु आएको खण्डमा हामी व्यवस्थित खालको वातावरण सिर्जना गर्नेछौं ।
विद्युतः
ढोरपाटन नगरपालिकाको धेरै ठाउँमा विद्युत पुगेको छ र वडा नं. ९ भौगोलिक हिसाबले गर्दा नपुगेको अवस्था छ । भर्खरै नगरपालिकाबाट ६०–६५ वटा घरलाई हामीले सोलार वितरण गरेका छौं । अवको केही समयभित्रमा प्रदेश सरकारले टेण्डर गरेर सोलार वितरण गर्न भनेर हामीले विजुली नपुगेको ठाउँहरुमा रहेका व्यक्तिहरुको नाम टिप्पणी गरेर प्रदेश सरकारमा पठाएका छौं । अव ४–५ सय सोलार तत्काल आउँदैछ र ती विजुली नपुगेको ठाउँमा वितरण गर्नेछ ।
खानेपानीः
ढोरपाटन नगरपालिका भित्र खानेपानीको लागि ४–५ घरधुरीहरुलाई समेटेर धाराहरु निर्माण गरेका छौं र केही चाहिँ नपुगेका ठाउँहरुमा टाढाबाट बोक्नु परेकाले त्यस ठाउँका लागि बजेट पनि विनियोजन गरेका छौं र अवको केही समयभित्र त्यस ठाउँमा पनि खानेपानीको व्यवस्था गर्नेछौं ।
