रास्वपा र राप्रपाले बहिष्कार गरे प्रतिनिधिसभा बैठक

काठमाडौं । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाले मंगलबार पनि प्रतिनिधिसभामा विरोध जनाएका छन्।

मंगलबार बैठक सुरु हुनेबित्तिकै दुई दलका सांसदले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद शिशिर खनाललाई बोल्न समय दिएका थिए। सांसद खनालले आफूहरूले लामो समयदेखि सदनमा जायज मागका साथ विरोध गरे पनि कुनै सुनुवाई नभएको भन्दै आपत्ति जनाएका थिए।

लोकतान्त्रिक प्रक्रिया र नियमहरूलाई नमान्ने, संविधानलाई कमजोर पार्ने, संविधानका प्रावधानहरूलाई बेवास्ता गर्ने वा त्यसको मर्यादा घटाउने काम भइरहेको उनले बताए।

उनले भ्रष्टाचार र बिचौलियाको संरक्षण गर्ने सरकार रहे मुलुक र लोकतन्त्रलाई दुर्घटनामा लैजाने उल्लेख गरे। खनालले गृहमन्त्रीलाई अप्ठेरो पर्छ भनेर भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन हुन नसकेको जिकिर गरे।

त्यस्तै राप्रपा सांसद विना लामाले भिजिट भिसा प्रकरणमा आफूहरूले राखेको मागलाई सरकारले बेवास्ता गरेको र त्यसलाई सघाउने काम संसदले गरेको आरोप लगाए। यस विषयमा संसदीय उच्चस्तरीय छानविन समिति गठन नभएसम्म आन्दोलन जारी रहने उनले बताए।

त्यसपछि दुबै दलका सांसदले सदन बहिष्कार गरेका थिए। भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै दुई दलले जेठ १३ गतदेखि सदनमा निरन्तर विरोध जनाउँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *